उद्धव थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्ने राप्रपाको निर्णय
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्देशनविपरीत गतिविधि गरेको आरोपमा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि कारबाही गरेको छ।
बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई बागमती प्रदेशसभा सदस्यको पदबाट हटाउने तथा पार्टीको साधारण सदस्यतासमेत खारेज गर्ने निर्णय गरेको हो। बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले थापामाथि कारबाही गरिएको जानकारी दिए।
बागमती प्रदेशमा सरकार गठनका क्रममा पार्टीको निर्णय र निर्देशनविपरीत नेकपा एमालेलाई समर्थन गरेको तथा त्यसबारे पार्टीले मागेको स्पष्टीकरणसमेत नदिएको भन्दै थापामाथि कारबाही गरिएको राप्रपाले जनाएको छ।
यसैबीच, बैठकमा राप्रपाका नेता कमल थापाले उद्धव थापामाथि कारबाही गर्ने निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेको स्रोतले जनाएको छ। उनी उद्धव थापामाथि कारबाही गर्न नहुने पक्षमा रहेको बताइएको छ।
तपाईको प्रतिक्रिया