आइतबार ७ भदौ २०८३
राजनीति

राप्रपाले बागमतीका तीन मन्त्रीलाई १२ घण्टे स्पष्टीकरण सोध्यो

शनिबार भदौ ६, २०८३/ Saturday 08-22-26

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्णयविपरीत बागमती प्रदेश सरकारमा मन्त्री बनेका आफ्ना तीन सांसदलाई कारबाही किन नगर्ने भन्दै १२ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार केन्द्रीय अनुशासन समितिले प्रदेश सांसदहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई स्पष्टीकरण मागेको हो।

राप्रपाले एमाले र नेकपाको गठबन्धनमा बनेको बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको थियो। उक्त निर्णय र पार्टी निर्देशनविपरीत तीनै सांसदले मन्त्री पदको शपथ लिएको भन्दै उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको राप्रपाले जनाएको छ।

यसअघि राप्रपाले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ। थापाले आफ्नो व्यक्तिगत लेटरप्याडमार्फत बागमती सरकारलाई राप्रपाको समर्थन रहेको जानकारी गराएको आरोपमा पार्टीले उनलाई कारबाही गरेको थियो।

थापाको उक्त समर्थनलाई आधार बनाएर बागमतीका मुख्यमन्त्री किरण थापाले राप्रपाका तीन सांसदलाई प्रदेश सरकारमा मन्त्री नियुक्त गरेका थिए।

राप्रपा प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको निर्णय र निर्देशनविपरीत मन्त्री पदको शपथ लिएका विष्ट, प्रजापति र तामाङलाई ‘किन कारबाही नगर्ने’ भन्ने विषयमा १२ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।

 

तपाईको प्रतिक्रिया