वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, केहीमा राति यातायात बन्द
काठमाडौं। लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी र सडक भासिँदा यातायात प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रे, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका सडक प्रभावित छन्।
काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ।
इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी र पासाङल्हामु सडक, रुकुम पश्चिमको भेरी करिडोर, लमजुङको बेँसीसहर–मनाङ सडक, रोल्पाको घोराही–थवाङ–रुकुम सहिदमार्ग तथा पाल्पाको सिद्धार्थ राजमार्ग पहिरो र कटानका कारण अवरुद्ध भएका छन्।
नुवाकोटको टोखा–छहरे सडकमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ।
प्रहरीले पहिरो तथा बाढीको जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न र आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया