काठमाडौं। अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले आज बङ्गलादेश हाई–परफर्मेन्ससँग प्रतिस्पर्धा गर्दैछ।
पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको नेपाल ‘ए’ आज पहिलो जित निकाल्ने लक्ष्यमा मैदान उत्रँदैछ। डार्विनस्थित मारारा ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ।
पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाल ‘ए’ ले आज ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै बङ्गलादेश हाई–परफर्मेन्सलाई चुनौती दिने तयारी गरेको छ।
नेपालले गत वर्षको टप एन्ड टी–२० मा पनि बङ्गलादेश ‘ए’ विरुद्ध खेलेको थियो। उक्त खेलमा नेपाल २९ रनले पराजित भएको थियो।
प्रतियोगितामा प्रत्येक टोलीले लिग चरणमा ६ खेल खेल्ने भएकाले सुरुआती हारपछि पनि नेपाल ‘ए’ का लागि प्रतियोगितामा पुनरागमन गर्ने पर्याप्त अवसर बाँकी छ।
तपाईको प्रतिक्रिया