सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
काठमाडौं । नेपाल सरकार र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानबीच १४ बुँदे सहमति भएको छ।
शनिबार सम्पन्न वार्तामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महाअभियानबीच विभिन्न विषयमा सहमति जुटेको हो। सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाअभियानका तर्फबाट विष्णु बोहरा क्षेत्रीले हस्ताक्षर गरेका छन्।
सहमति भएसँगै महाअभियानले सञ्चालन गर्दै आएका धर्ना, प्रदर्शन तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम शनिबारदेखि नै अन्त्य गर्ने निर्णय भएको छ।
ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको दुवै पक्षले जनाएका छन्।
वार्ताका क्रममा महाअभियानले उठाउँदै आएका विभिन्न राजनीतिक, सामाजिक, आर्थिक तथा नागरिक सरोकारका विषयमा छलफल भएको बताइएको छ। लामो समयदेखि आन्दोलनरत पक्ष र सरकारबीच सहमति जुटेपछि तत्कालका लागि सडक आन्दोलन स्थगित भएको हो।
सरकार र महाअभियानबीच भएको १४ बुँदे सहमतिले आन्दोलनरत पक्षले उठाएका माग सम्बोधन गर्ने प्रक्रियालाई अघि बढाउने अपेक्षा गरिएको छ। सहमतिका विस्तृत बुँदाहरू कार्यान्वयनको चरणमा गएसँगै यसको प्रभाव र प्रगतिबारे थप स्पष्ट हुने देखिएको छ।
तपाईको प्रतिक्रिया