काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल सुरु भएको छ।
गृहमन्त्री सुधन गुरुङसहित गृहमन्त्रालयको टोलीले गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग शनिबार छलफल गरिरहेको हो। छलफलमा कृषिमन्त्री गीता चौधरी पनि सहभागी छन्।
गरिमाको घटनामा न्यायको माग गर्दै पीडित परिवार तथा स्थानीयवासीले निरन्तर आवाज उठाउँदै आएका छन्। सोही क्रममा आमा–बुबा शनिबार दिउँसो सिमरा विमानस्थलबाट काठमाडौं आएका थिए। उनीहरूसँगै केही स्थानीय अभियन्ता पनि काठमाडौं आएका छन्।
छलफलका क्रममा गरिमाको हत्या घटनाको अनुसन्धान, दोषीमाथि कारबाही तथा पीडित परिवारले उठाएका मागका विषयमा कुराकानी हुने बताइएको छ।
गरिमाको न्यायको माग गर्दै बारा, काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शनसमेत जारी छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएका छन्।
पीडित परिवारले छोरीको हत्यामा संलग्नलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने र न्याय सुनिश्चित हुनुपर्ने माग राख्दै आएका छन्। गृहमन्त्रालयमा भइरहेको छलफललाई उनीहरूको न्यायको माग सम्बोधन गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया