सोमबार ८ भदौ २०८३
समाज

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

आइतबार भदौ ७, २०८३/ Sunday 08-23-26

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।

शनिबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू र गरिमाका आमाबुवाबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।

सहमति अनुसार जघन्य अपराधसम्बन्धी विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गरी आवश्यक संशोधन प्रस्ताव तयार गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सात सदस्यीय ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन गर्नेछ। समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ।

यस्तै, पीडित परिवारको मागअनुसार गरिमाको सालिक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गर्ने सहमति भएको छ। बालिकाको अन्त्येष्टि भने अभिभावकले आफ्नै रीतिरिवाजअनुसार गर्नेछन्।

सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री गुरुङ, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, कानुनमन्त्री सोविता गौतम, महिला तथा बालबालिकामन्त्री सीता बादी र कृषि तथा वनमन्त्री गीता चौधरीले हस्ताक्षर गरेका छन्।

पीडित परिवारका तर्फबाट गरिमाका बुवा मनोजकुमार चौधरी र आमा मानमती चौधरीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

 

तपाईको प्रतिक्रिया