काठमाडौं । तारकेश्वर नगरपालिका–६, जरङ्खुको अष्टमान टोलमा घर निर्माणका क्रममा जमिन कटान गरिएपछि पहिरो जाँदा करिब ५० घर प्रभावित भएका छन्। पहिरोका कारण ४–५ घर उच्च जोखिममा परेका छन् भने स्थानीयको आवतजावतसमेत प्रभावित भएको छ।
स्थानीयका अनुसार घर निर्माणका लागि डोजर प्रयोग गरी जमिन काटिएपछि उक्त क्षेत्रमा पहिरोको समस्या देखिएको हो। करिब दुई वर्षदेखि जमिन खन्ने र घर निर्माणको काम भइरहेको भए पनि निर्माण कार्य सुस्त गतिमा अघि बढेको उनीहरूको गुनासो छ।
निर्माणस्थलबाट निस्किएको माटो तथा बालुवा सडकमा थुप्रिँदा पैदल आवतजावतमा समेत समस्या भएको स्थानीयले बताएका छन्। सडकमा थुप्रिएको माटो समयमै हटाउने र बाटो सफा गर्ने काम नभएको उनीहरूको भनाइ छ।
स्थानीयका अनुसार उक्त निर्माणाधीन घर किरण रिजालको हो। निर्माणका क्रममा आवश्यक सावधानी नअपनाउँदा अहिले टोलवासीले जोखिम र सास्ती भोग्नुपरेको उनीहरूको आरोप छ।
पहिरो जानुअघि उक्त स्थानमा यस्तो समस्या नरहेको र डोजर लगाएर जमिन काटिएपछि मात्रै समस्या सुरु भएको स्थानीयको दाबी छ। उनीहरूले निर्माण पक्षलाई तत्काल माटो हटाउन, सडक व्यवस्थित गर्न तथा पहिरो नियन्त्रणका लागि आवश्यक संरचना निर्माण गर्न माग गरेका छन्।
स्थानीयले वडा कार्यालयलाई पटक–पटक पहिरो र सडकको अवस्थाबारे जानकारी गराउँदै तस्बिर तथा भिडियोसमेत पठाएको बताएका छन्। तर, हालसम्म ठोस पहल हुन नसकेको उनीहरूको गुनासो छ। उपप्रमुखबाट भने समस्या स्थलगत रूपमा हेर्ने आश्वासन पाएको स्थानीयले बताएका छन्।
टोल सुधार समितिमार्फत पनि निर्माण पक्षसँग समस्या समाधानका विषयमा छलफल भइरहेको छ। स्थानीयले जोखिममा रहेका घर तथा बस्तीको सुरक्षालाई प्राथमिकता दिँदै सम्बन्धित निकाय र निर्माण पक्षले तत्काल पहिरो नियन्त्रण तथा सुरक्षित आवतजावतको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
तपाईको प्रतिक्रिया