काठमाडौं । सरकारसँग १४ बुँदे सहमति भएपछि ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू घर फर्किएका छन्।
नेपाल सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १४ बुँदे सहमति जुटेपछि ऋणीहरूले आन्दोलन तथा धर्ना स्थगित गरेका हुन्।
सहमति कार्यान्वयनका लागि प्रारम्भिक प्रक्रिया अघि बढेसँगै आइतबार बिहान ८ः५० बजे सरकारले व्यवस्था गरेका साझा यातायातका बसमार्फत उनीहरू आ–आफ्नो जिल्लातर्फ प्रस्थान गरेका हुन्।
विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई आठ वटा बसमार्फत बिदाइ गरिएको थियो। उनीहरूलाई झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लातर्फ पठाइएको जनाइएको छ।
सरकारसँग भएको १४ बुँदे सहमतिपछि लामो समयदेखि जारी लघुवित्त ऋणीहरूको धर्ना तथा आन्दोलन तत्कालका लागि स्थगित भएको हो।
तपाईको प्रतिक्रिया