विपद्पीडित ग्राहकका लागि बैंकिङ सेवा थप सहज बनाउन राष्ट्र बैंकको निर्देशन
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई चेक, बैंक कार्ड, मोबाइल फोन तथा बैंकिङ कारोबारका लागि आवश्यक अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मंगलबार सूचना जारी गर्दै बाढी प्रभावित ग्राहकको पहिचान सुनिश्चित गरी आवश्यक सेवा र सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हो।
प्राकृतिक विपद्का कारण आवश्यक कागजात तथा बैंकिङ सामग्री हराएका कारण ग्राहकले वित्तीय सेवा लिन कठिनाइ नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो अभिलेखमा सुरक्षित ग्राहकको हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणका आधारमा पहिचान प्रमाणित गर्न सक्नेछन्। यसरी पहिचान पुष्टि भएपछि असहज परिस्थितिमा समेत ग्राहकलाई आवश्यक बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्नुपर्नेछ।
बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रका धेरै नागरिकले व्यक्तिगत कागजातसँगै बैंकिङ सामग्री र मोबाइल उपकरणसमेत गुमाएका बेला राष्ट्र बैंकको यो निर्णयले उनीहरूको बैंकिङ तथा वित्तीय सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया