काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक भदौ १८ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।
बुधबारको बैठकले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको थियो। प्रस्तावमार्फत बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, बेपत्ता नागरिकको खोजीलाई तीव्रता दिन तथा बाढीबाट प्रभावितको पुनर्स्थापनामा आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराइएको छ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिबारे संसद्लाई जानकारी गराएका थिए। उनले बाढीबाट भएको मानवीय क्षति, राहत कोषको अवस्था तथा उद्धारका क्रममा देखिएका प्राविधिक चुनौतीबारे सांसदहरूलाई अवगत गराएका थिए।
यसैगरी, विभिन्न राजनीतिक दलका नेताहरूले बाढीबाट भएको क्षति र सरकारको उद्धार तथा राहत कार्यबारे आ–आफ्ना धारणा राखेका थिए। उनीहरूले उद्धारमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै प्रभावितको राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका थिए। साथै, विपद्को सामना गर्न राजनीतिक दलबीच राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।
तपाईको प्रतिक्रिया