बिहीबार १८ भदौ २०८३
राजनीति

बाढी उद्धारबारे सरकारको धारणा राखेर सांसदको कुरा नसुनी बाहिरिए प्रधानमन्त्री बालेन

बुधबार भदौ १७, २०८३/ Wednesday 09-02-26

काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीपछि उद्धार तथा राहतबारे प्रतिनिधिसभालाई जानकारी गराउन बुधबार संसद पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले करिब २५ मिनेट सम्बोधन गरेपछि बैठक छाडेका छन्।

सम्बोधनका क्रममा उनले बाढीबाट ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको र ११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको जानकारी दिए। उद्धारका लागि १३ हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको तथा हेलिकप्टरमार्फत ३५१ जनाको उद्धार गरिएको उनले बताए।

प्रधानमन्त्री शाहले सुरुङमा लेदो र गेग्रान भरिएकाले फसेका कामदारको उद्धार अत्यन्त चुनौतीपूर्ण बनेको बताए। यस्तो प्रकृतिको बाढीबाट सुरुङभित्र उद्धार गर्ने अनुभव विश्वका कुनै पनि देशसँग पर्याप्त नरहेको उनको दाबी थियो।

पहिचान नभएका शव कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरी सुरक्षित व्यवस्थापन गरिएको र डीएनए परीक्षणपछि परिवारलाई बुझाइने उनले स्पष्ट पारे।

विदेशी सहयोग लिन ढिलाइ भएको आलोचनाबारे उनले भारत र चीनका प्राविधिक टोलीले सुरुदेखि नै घटनास्थलको निरीक्षण गरेको तर सुरुङमा तत्काल प्रवेश गर्न सक्ने अवस्था नरहेको बताए।

प्रधानमन्त्रीले खोजी तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको आलोचना नगरी प्रोत्साहन गर्न पनि आग्रह गरे।

उनले बाढीपछि सरकारले तत्कालै सतर्कता सूचना जारी गर्ने, हवाई उद्धार, राहत सामग्री पठाउने, घाइतेको उपचार तथा विस्थापितको व्यवस्थापनलगायतका काम अघि बढाएको विवरण संसदमा प्रस्तुत गरे।

 

तपाईको प्रतिक्रिया