प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित
काठमाडौँ । रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति प्रतिनिधिसभाले दुःख व्यक्त गरेको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गर्दै बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेको हो।
बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसी र बेत्रावती क्षेत्रसँगै नुवाकोटको त्रिशूली बजार तथा देवीघाट आसपासमा व्यापक क्षति पुगेको प्रस्तावमा उल्लेख गरिएको छ। त्यस्तै, धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा समेत बाढीले ठूलो जनधनको क्षति पुर्याएको जनाइएको छ।
प्रस्तावमा बाढीका कारण स्वदेशी तथा विदेशी नागरिकसमेत बेपत्ता भएको र ठूलो संख्यामा मानिसले ज्यान गुमाएको उल्लेख छ। बाढीबाट प्रभावित भई घरबारविहीन भएका नागरिकको उचित व्यवस्थापन गर्न तथा घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्यलाभका लागि कामना गर्दै प्रतिनिधिसभाले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो।
साथै, विपद्बाट प्रभावित परिवारलाई आवश्यक सहयोग तथा व्यवस्थापनमा ध्यान दिनुपर्नेमा समेत प्रस्तावमार्फत जोड दिइएको छ।
तपाईको प्रतिक्रिया