बिहीबार १८ भदौ २०८३
समाज

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

बुधबार भदौ १७, २०८३/ Wednesday 09-02-26

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कर्मचारी सञ्चय कोषले २ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सहयोग रकमको चेक कोष सञ्चालक समितिका अध्यक्ष भूपाल बराल, प्रशासक विजयकुमार श्रेष्ठसहित वरिष्ठ अधिकारीहरूले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।

चेक बुझ्दै अर्थमन्त्री वाग्लेले विपद्का बेला राहत र उद्धारका लागि कर्मचारी सञ्चय कोषले गरेको आर्थिक सहयोगप्रति धन्यवाद व्यक्त गरे।

कार्यक्रममा कोषका अध्यक्ष बरालले राष्ट्रिय स्तरमा आइपर्ने प्राकृतिक विपद्, महाभूकम्प तथा महामारीजस्ता संकटका समयमा कर्मचारी सञ्चय कोषले सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग गर्दै आएको बताए। यही परम्परालाई निरन्तरता दिँदै भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम उपलब्ध गराइएको उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया