पुराना नेताबाट सिक्न होइन, उनीहरूलाई सिकाउन आएका हौँ : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले आफूहरू पुराना नेताबाट सिक्न नभई उनीहरूले गरेका गल्तीबाट पाठ सिकेर नयाँ राजनीतिक संस्कार स्थापित गर्न आएको बताएका छन्।
जेनजी शहीद स्मृति दिवसका अवसरमा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले आफूहरू पुराना नेताहरूबाट सिक्ने अवस्थामा नभएको दाबी गरे।
उनले पुराना नेताहरूले गरेका गल्तीबाट पाठ सिक्दै आफूहरू अघि बढिरहेको बताए। साथै, आफूहरूलाई अनावश्यक रूपमा लाञ्छित नगर्न उनले पुराना नेताहरूसँग आग्रह गरे।
गृहमन्त्री गुरुङले आफूहरू पुराना पुस्ताजस्तै बन्न नआएको भन्दै नयाँ पुस्तालाई पनि आफूहरूजस्तै बन्नुपर्छ भन्ने अपेक्षा नराख्न आग्रह गरे।
‘हामी देश बनाउन आएका हौँ,’ उनले भने, ‘हामीले लिएको जिम्मेवारी पूरा गरेरै छाड्छौँ।’
गुरुङले आफूहरूको सत्तामा जाने कुनै इच्छा नरहेको पनि बताए। पुराना दल र नेताहरूले सही ढंगले काम गरेको भए आफूहरू राजनीतिमा आउनुपर्ने अवस्था नै नआउने उनको भनाइ थियो।
उनले नयाँ पुस्ताको राजनीतिमा प्रवेशको मुख्य कारण विगतका कमजोरी र असफलताबाट उत्पन्न परिस्थितिलाई सुधार गर्नु रहेको समेत बताए।
तपाईको प्रतिक्रिया