शालिकको अनुहार नमिलेपछि पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री गुरुङ
काठमाडौं । ललितपुरको सातदोबाटोमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ उद्घाटन गर्न पुगेका गृहमन्त्री सुधन गुरुङ उद्घाटन नगरी फर्किएका छन्।
पार्कमा राखिएका शालिकहरू आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको वास्तविक अनुहारसँग मेल नखाएको भन्दै मृतकका परिवारजनले आपत्ति जनाएपछि गृहमन्त्री गुरुङ उद्घाटन नगरी फर्किएका हुन्।
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनाको स्मृतिमा सातदोबाटो पौडी पोखरी परिसरमा पार्क निर्माण गरिएको हो। करिब दुई रोपनी क्षेत्रफलमा बनेको पार्कलाई आन्दोलनका शहीदहरूको स्मृतिस्थलका रूपमा विकास गरिएको बताइएको छ।
तर, पार्कमा निर्माण गरिएका शालिकहरू सम्बन्धित शहीदको अनुहारसँग नमिलेको भन्दै परिवारका सदस्यहरूले असन्तुष्टि जनाएका छन्। परिवारजनको आपत्तिपछि उद्घाटन कार्यक्रम प्रभावित भएको हो।
सरकारले पार्कलाई जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको योगदान र बलिदानको सम्मान गर्ने स्मृतिस्थलका रूपमा अघि बढाएको जनाएको छ।
तपाईको प्रतिक्रिया