बुधबार २४ भदौ २०८३
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

बुधबार भदौ २४, २०८३/ Wednesday 09-09-26

काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने कार्यसूची छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्। यस्तै, ‘मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

यता, राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ। बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने तयारी छ। उक्त प्रतिवेदन विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन्।

यसैबीच, आज अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकसमेत बस्दैछ।

 

तपाईको प्रतिक्रिया