बुधबार २४ भदौ २०८३
राजनीति

भोटेकोशी बाढी अपडेट : मंगलवार साँझसम्म १ हजार ३६४ जनाको शव फेला

मंगलबार भदौ २३, २०८३/ Tuesday 09-08-26

काठमाडौँ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलवार साँझ ५ बजेसम्म १ हजार ३६४ जनाको शव फेला परेको छ। 

प्रहरी प्रधान कार्यालयले आज साँझ सार्वजनिक गरेको विवरण अनुसार रसुवामा १ सय ७३ जना, नुवाकोटमा १ सय ९७ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६३ जना, गोरखामा ७५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २६ जना र नवलपरासी पश्‍चिम २ सय २२ जना गरी १ हजार ३ सय ६४ जनाको शव फेला परेको हो।  

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हाल सम्म १ हजार १ सय ४० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ।

शव पहिचानका लागि मृतकका १ हजार २ सय ८० र आफन्तका १ हजार ४ सय १२ गरी कुल २ हजार ६ सय ९२ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएको १ हजार ३ सय १० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। 

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ।

हालसम्म बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार २ सय ४५ जना व्यक्तिहरूलाई राखिएको छ। 

तपाईको प्रतिक्रिया