काठमाडौँ । सुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ।
सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१ स्थित भम्लु खोलामा गएराति माथिबाट सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार यसअघि कालिकोटको पिली, गगने खोला र एस मोडमा खसेको पहिरोका कारण भदौ २० गतेदेखि अवरुद्ध राजमार्ग मंगलबार दिउँसोदेखि सञ्चालनमा आएको थियो। तर, दैलेखमा पुनः पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो।
सडक खुलाउन बुधबार बिहानैदेखि प्रहरी र सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
राजमार्ग अवरुद्ध भएपछि हुम्ला, मुगु, जुम्ला र कालिकोटबाट सुर्खेत, नेपालगन्ज तथा काठमाडौँतर्फ जाने यात्रुहरू प्रभावित भएका छन्।
तपाईको प्रतिक्रिया