एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई सहज बनाउन एनसेलले स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ।
आपत्कालीन अवस्थामा मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै एनसेलले लो अर्थ अर्बिट (एलईओ) स्याटलाइट प्रविधिबाट सञ्चालन हुने उपकरण प्रभावित क्षेत्रका आवश्यक स्थानमा जडान गरिरहेको जनाएको छ।
उद्धार तथा राहतमा संलग्न सरकारी निकायसँगको समन्वयमा प्रभावित क्षेत्रका होल्डिङ सेन्टर, राहत वितरण केन्द्र, अस्थायी शिविर तथा अन्य आपत्कालीन कार्यस्थलमा सेवा विस्तार गरिँदैछ।
एनसेलका अनुसार हालसम्म नुवाकोटका तीन महत्त्वपूर्ण स्थानमा यस्तो सेवा सञ्चालनमा ल्याइएको छ भने अन्य बाढी प्रभावित क्षेत्रमा पनि उपकरण जडानको काम भइरहेको छ।
स्याटलाइटबाट प्राप्त इन्टरनेट सिग्नललाई जमिनमा जडान गरिएको उपकरणमार्फत आसपासका क्षेत्रमा वाइफाइका रूपमा वितरण गरिनेछ। मोबाइल नेटवर्क वा सामान्य इन्टरनेट सेवा उपलब्ध नभएको अवस्थामा समेत यसबाट इन्टरनेट चलाउन सकिने बताइएको छ।
यस प्रविधिबाट सन्देश आदानप्रदान, इन्टरनेटमार्फत फोन तथा भिडियो कल, सूचना प्राप्ति र राहत तथा उद्धार कार्यको समन्वय गर्न सकिनेछ।
एनसेलले उक्त सेवा सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित सरकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा हालका लागि सेवा निःशुल्क उपलब्ध गराइनेछ।
तपाईको प्रतिक्रिया