विपद्को क्षति तथा प्रभाव मूल्यांकनमा सुझाव दिन अर्थ समितिमा उपसमिति गठन
काठमाडौं । रसुवामा आएको बाढीबाट मुलुकको अर्थतन्त्रमा परेको प्रभाव तथा जलवायु वित्तसँग सम्बन्धित विषय अध्ययन गर्न संघीय संसद्को अर्थ समितिले उपसमिति गठन गरेको छ।
बुधबार बसेको समितिको बैठकले बाढीबाट भएको क्षति, त्यसले अर्थतन्त्रमा पारेको असर र जलवायु वित्तका विषयमा अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव तथा निर्देशन दिन उपसमिति गठन गर्ने निर्णय गरेको हो। उपसमितिले कार्य प्रारम्भ गरेको १० दिनभित्र आफ्नो प्रतिवेदन समितिमा बुझाउनुपर्नेछ।
सांसद सुशील खड्काको संयोजकत्वमा गठित उपसमितिमा नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, पुष्पाकुमारी चौधरी, पुष्पराज कँडेल, लिमा अधिकारी र सुशान्त वैदिक सदस्य छन्।
उपसमितिलाई आफ्नो कार्यविधि आफैं तय गर्ने अधिकार दिइएको छ। साथै, अध्ययनका क्रममा आवश्यक देखिएमा कार्यक्षेत्रसँग सम्बन्धित स्थानमा स्थलगत अनुगमन गर्न सक्ने जिम्मेवारीसमेत दिइएको छ।
बैठकमा रसुवा बाढीपछि सरकारले सञ्चालन गरेका उद्धार, राहत तथा पुनःस्थापनाका कामबारे पनि छलफल भएको थियो। त्यसैगरी, बाढीका कारण समग्र अर्थतन्त्रमा परेको प्रभाव, विपद्बाट भएको क्षतिको मूल्यांकन तथा विपद्पछिको आवश्यकता पहिचानसम्बन्धी मूल्यांकन (पीडीएनए) लगायतका विषयमा समितिमा विस्तृत छलफल भएको थियो।
तपाईको प्रतिक्रिया