बुधबार २४ भदौ २०८३
अर्थ

सेयर बजार १५ अङ्कले घट्यो, ४ अर्बभन्दा बढीको कारोबार

बुधबार भदौ २४, २०८३/ Wednesday 09-09-26

काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.४३ अङ्क घटेर २ हजार ५४५.४० विन्दुमा झरेर कारोबार बन्द भएको हो।

बुधबार बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। कुल १९२ कम्पनीको मूल्यमा गिरावट आउँदा ७४ कम्पनीका लगानीकर्ताले भने मूल्यवृद्धि देख्न पाए। ११ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

दिनभर १० लाख ९६ हजार कित्ता सेयर किनबेच भएका छन्। यस क्रममा कुल ४ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका सबै समूहगत सूचक ओरालो लागेका छन्। विकास बैंक समूह सबैभन्दा बढी प्रभावित हुँदै २.३७ प्रतिशतले घटेको छ। त्यस्तै, फाइनान्स, होटल, निर्जीवन बीमा र ट्रेडिङ समूहका सूचक पनि एक प्रतिशतभन्दा बढीले घटेका छन्।

बुधबारको कारोबारमा अपर लोहोरे हाइड्रोपावरका लगानीकर्ता सबैभन्दा बढी लाभान्वित भएका छन्। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। अन्य कुनै पनि कम्पनीको सेयर मूल्य भने दोहोरो अङ्कले बढ्न सकेन।

यता इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कालिञ्चोक दर्शन र उपकार लघुवित्तको सेयर मूल्यमा पनि दोहोरो अङ्कको गिरावट आएको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। 

तपाईको प्रतिक्रिया