बिहीबार २५ भदौ २०८३
खेलकुद

स्पिनर चम्किँदा ओमानमाथि नेपालको शानदार जित

बिहीबार भदौ २५, २०८३/ Thursday 09-10-26

काठमाडौं । नेपाली क्रिकेट टोली एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।

नेपालले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याएको ओमान नेपाली स्पिन बलिङसामु निरिह देखियो। ओमानको टोली २८.१ ओभरमा केवल ६० रनमा समेटिएपछि नेपालले फराकिलो जित हासिल गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो। नेपालको इनिङ्समा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन जोडे। बसिर अहमदले ४७ रन बनाएर उनलाई राम्रो साथ दिए।

नेपालको सुरुवात भने कमजोर थियो। २३ रनमै पहिलो विकेट गुमाएको नेपाल ३६ रन पुग्दा चार विकेट गुमाएर दबाबमा परेको थियो। यस्तो अवस्थामा दीपेन्द्र र बसिरले संयमित प्रदर्शन गर्दै ९३ रनको महत्वपूर्ण साझेदारी गरे। उनीहरूको साझेदारीले नेपाललाई प्रतिस्पर्धात्मक स्कोरतर्फ पुर्‍याएको थियो।

नेपालका देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। एक समय १२९ रनमा पाँच विकेटको अवस्थामा रहेको नेपालले त्यसपछि लगातार विकेट गुमाउँदै १४७ रनमा आफ्नो इनिङ्स टुंग्याएको थियो।

ओमानका लागि जय ओडेडराले १० ओभरमा २६ रन खर्चेर तीन विकेट लिए। हस्नैन शाहले ८.४ ओभरमा २८ रन दिँदै तीन विकेट हात पारे। मुहम्मद इमरानले दुई तथा शकील अहमद र मुजिबुर अलीले एक–एक विकेट लिए।

तर, लक्ष्य पछ्याउने क्रममा ओमानको ब्याटिङ नेपाली स्पिन आक्रमणसामु लामो समय टिक्न सकेन। नेपाली बलरले नियमित अन्तरालमा विकेट निकाल्दा ओमान ६० रनमै अलआउट भयो।

सेमिफाइनलमा प्राप्त यस जितसँगै नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पनि आफ्नो स्थान सुरक्षित गरेको छ।

अब नेपालले एसीसी प्रिमियर कपको उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गर्नेछ। शनिबार हुने फाइनलमा नेपालले यूएईलाई हराउन सके आगामी एसिया कपमा समेत स्थान बनाउनेछ।

तपाईको प्रतिक्रिया