२ हजार ५ सय रुपैयाँ नहुँदा अस्पतालले भर्ना लिएन, फुटपाथमै बच्चा जन्माइन् बबिताले
राजविराजको घटना संसद्मा उठ्यो, सांसद खगेन्द्र कर्णले सरकारसँग मागे जवाफ
काठमाडौं । पैसा अभावका कारण अस्पतालले भर्ना नलिएपछि एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना प्रतिनिधिसभामा उठेको छ।
राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका लागि पुगे पनि भर्ना हुन नपाएपछि फुटपाथमै बच्चा जन्माउनुपरेको विषय संसद्मा उठाइएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले प्रतिनिधिसभाको बैठकमा उक्त घटना उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद कर्णका अनुसार बबितासँग उपचारका लागि जम्मा २ हजार ५ सय रुपैयाँ मात्रै थियो। आर्थिक अभावकै कारण अस्पतालले उनलाई भर्ना नगरेको र त्यसपछि उनले अस्पताल परिसर बाहिरै बच्चा जन्माउनुपरेको उनले संसद्मा बताएका छन्।
स्वास्थ्यजस्तो आधारभूत सेवाबाट आर्थिक अवस्थाकै कारण नागरिक वञ्चित हुनुपर्ने अवस्था गम्भीर भएको भन्दै सांसद कर्णले घटनाबारे सरकारसँग जवाफ मागेका छन्।
उनले विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकले सरकारी अस्पतालबाट सहज र सम्मानजनक स्वास्थ्य सेवा पाउने व्यवस्था प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
घटनाले सरकारी स्वास्थ्य संस्थामा विपन्न नागरिकको पहुँच तथा निःशुल्क वा सहुलियतपूर्ण उपचारसम्बन्धी व्यवस्थाको कार्यान्वयनमाथि प्रश्न उठाएको छ।
तपाईको प्रतिक्रिया