आईजी दानबहादुर कार्कीलाई बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजी) दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी उनीमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद सुनारले आईजी कार्कीमाथि करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको दाबी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले प्रहरीका तल्लो तहका कर्मचारीका लागि आवश्यक जुत्ता–मोजालगायतका सामग्री खरिदमा समेत अनियमितता भएको आरोप आईजी कार्कीमाथि लागेको दाबी गरे।
सुनारले भने, ‘करोडौँ करोड भ्रष्टाचार गरेको आरोप लागेको छ। यो सरकारले उहाँलाई बर्खास्त किन गरिरहेको छैन? उहाँमाथि छानबिन किन भइरहेको छैन? के कारणले उहाँलाई बचाइराखिएको छ?’
सांसद सुनारले आईजी कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय संसद्को सार्वजनिक लेखा समितिसम्म भ्रष्टाचारसम्बन्धी उजुरी परेको दाबीसमेत गरे।
उनका अनुसार आईजी कार्की मात्र नभई उनकी श्रीमतीसहित केही उच्च अधिकारीमाथि समेत करोडौँ रुपैयाँ भ्रष्टाचारको आरोप लागेको छ।
‘सामान्य आरोपको भरमा अहिलेसम्म तीन जना मन्त्री बर्खास्तमा परिसक्नुभएको छ। तर करोडौँ भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, उहाँकी श्रीमतीलगायत उच्च अधिकारीमाथि लागेको छ,’ उनले भने।
कार्कीविरुद्ध अख्तियार र सार्वजनिक लेखा समितिमा उजुरीहरू ‘चाङमाथि चाङ’ थपिँदै गएको दाबी गर्दै सुनारले ती उजुरीमाथि निष्पक्ष छानबिन गर्न सरकारसँग आग्रह गरे।
भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई राजनीतिक संरक्षण दिन नहुने भन्दै उनले आरोपको निष्पक्ष अनुसन्धान गरी दोषी देखिए कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।
यसअघि पनि सांसद सुनारले संसद्को सार्वजनिक लेखा समितिलगायत विभिन्न फोरममा आईजी कार्कीलाई पदबाट हटाएर छानबिनको दायरामा ल्याउनुपर्ने माग गर्दै आएका छन्।
तपाईको प्रतिक्रिया