शनिबार २७ भदौ २०८३
समाज

ग्यास लुकाउने र कालोबजारी गर्नेमाथि कडाइ गर्दै सरकार, ठाउँठाउँमा छापा

शुक्रबार भदौ २६, २०८३/ Friday 09-11-26

काठमाडौं । ग्यास आपूर्तिमा देखिएको समस्या र व्यवसायीमाथि कारबाहीबीच सरकारले बजार अनुगमन तीव्र पारेको छ।

ग्यास आपूर्तिमा कर्मचारीले असहयोग गरेको र व्यवसायीलाई विवादास्पद अभिव्यक्ति दिएको विषयमा चौतर्फी आलोचना भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएकी थिइन्।

यादवको राजीनातापछि प्रहरीले शुक्रबार काठमाडौंका विभिन्न स्थानबाट लुकाइराखिएका तथा कालोबजारीमा प्रयोग भएको आशंकामा १ हजारभन्दा बढी ग्यास सिलिण्डर बरामद गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नरेफाँट र सामाखुशीबाट ३७२ सिलिण्डर बरामद गरी केही व्यवसायीलाई पक्राउ गरेको छ। त्यस्तै, तीनकुनेको गैरीगाउँबाट दुई ट्रकमा लोड गरिएका ७ सय सिलिण्डर बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, उद्योग, वाणिज्य तथा आपूर्ति विभागले उपभोक्ताबाट बढी मूल्य असुलेको आरोपमा दुई व्यवसायीलाई ३/३ लाख रुपैयाँ जरिवाना गरेको छ। यसअघि भक्तपुरबाट समेत १०३ सिलिण्डर बरामद गरिएको थियो।

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक साहले शुक्रबार नै ग्यास उद्योगीहरूसँग छलफल गर्दै आपूर्ति सहज बनाउन पहल थालेका छन्। उनले उपभोक्ताले सहज रूपमा ग्यास पाउनुपर्ने बताएका छन्।

प्रहरी तथा विभागको कारबाहीपछि ग्यास बिक्रेता महासंघले पनि व्यवसायीलाई सरकारले तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्री नगर्न आग्रह गरेको छ। महासंघले अनुचित लाभ लिने व्यवसायीमाथि कानुनी कारबाही गर्न सरकारसँग मागसमेत गरेको छ।

 

तपाईको प्रतिक्रिया