शनिबार २७ भदौ २०८३
खेलकुद

एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल–यूएई भिड्दै

पहिले ब्याटिङ गर्दै नेपाल
शनिबार भदौ २७, २०८३/ Saturday 09-12-26

काठमाडौं। एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भिड्दै छन्। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

दुवै टोली दोस्रोपटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छन्। सन् २०२३ मा भएको पहिलो संस्करणको फाइनलमा नेपालले यूएईलाई सात विकेटले पराजित गर्दै उपाधि जितेको थियो। त्यसपछि सन् २०२४ मा यूएईले आयोजक ओमानलाई हराउँदै उपाधि आफ्नो नाममा गरेको थियो।

यसपटक फाइनलको महत्त्व अझ बढेको छ, किनकि उपाधि जित्ने टोलीले मात्र एसिया कपमा स्थान बनाउनेछ।

नेपालले जारी प्रतियोगितामा समूह चरण र सेमिफाइनल गरी पाँच खेल खेल्दा चार जित र एक हार बेहोरेको छ। यूएई भने प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच हालसम्म १९ खेल भएका छन्। नेपालले ११ खेल जित्दा यूएईले आठ खेलमा सफलता हात पारेको छ। पछिल्ला पाँच भेटमा नेपालले तीन खेल जितेको छ।

नेपाल र यूएईबीच पछिल्लो पटक गत मेमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत प्रतिस्पर्धा भएको थियो। उक्त शृंखलाका दुवै खेलमा नेपाल विजयी भएको थियो।

 

तपाईको प्रतिक्रिया