यूएन महासभामा बालेनको मुख्य एजेण्डा जलवायु न्याय र विपद् व्यवस्थापन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा जलवायु न्याय र विपद् व्यवस्थापनलाई प्रमुख एजेण्डाका रूपमा उठाउने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार आगामी असोज ८ गते अमेरिकाको न्यूयोर्कमा हुने महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिलाई समेत उल्लेख गर्दै नेपाल जलवायु संकटको उच्च जोखिममा रहेको विषय विश्व समुदायसामु प्रस्तुत गर्नेछन्।
नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायुजन्य विपद्का कारण ठूलो क्षति व्यहोर्दै आएको भन्दै प्रधानमन्त्री शाहले ‘हानि तथा नोक्सानी कोष’बाट नेपालले तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने धारणा राख्ने तयारी छ।
यस्तै, जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि धनी तथा औद्योगिक राष्ट्रहरूलाई जलवायु वित्त र आवश्यक प्रविधि उपलब्ध गराउन पनि नेपालले आग्रह गर्नेछ।
प्रधानमन्त्री शाहले महासभामा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, शान्तिपूर्ण निर्वाचन तथा वर्तमान सरकारका सुशासनका प्राथमिकताबारे समेत अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने कार्यक्रम छ।
महासभाकै अवसरमा नेपालले ‘सगरमाथादेखि समुद्रसम्म’ शीर्षकमा उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा हिमाल पग्लिँदा तल्लो तटीय क्षेत्रमा परिरहेको प्रभावबारे अन्तर्राष्ट्रियस्तरमा छलफल गरिनेछ।
प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनालसहित उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछन्। परराष्ट्रमन्त्री खनालले विभिन्न मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउनुका साथै विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
तपाईको प्रतिक्रिया