काठमाडौं । हरितालिका तीजको व्रतका लागि शक्ति सञ्चय गर्ने दिनका रूपमा आज नेपाली महिलाले दर खाँदैछन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुँदैछ।
भाद्र शुक्ल द्वितीयाका दिन दर खाने परम्परा छ। यस दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ। दरमा दूधबाट बनेका परिकार, गहुँको रोटी, घिउलगायत आडिला खानेकुरा खाने गरिन्छ। शास्त्रीय मान्यताअनुसार तीजको व्रतका लागि दर दुई भाग रात बाँकी छँदै खाइसक्नुपर्ने हुन्छ।
तीज धार्मिक पर्वसँगै महिलाले आफ्ना दुःख, पीडा र जीवनका अनुभव गीत तथा भाकामार्फत व्यक्त गर्ने सांस्कृतिक अवसरका रूपमा पनि मनाइन्छ। जन्मघर छाडेर कर्मघर पुगेका महिलाले भोगेका सुख–दुःख तीजका गीतमा अभिव्यक्त गर्ने परम्परा छ।
तर पछिल्ला वर्षमा तीजका नाममा बढ्दो तडकभडक, महँगो पहिरन तथा गरगहनाको प्रदर्शन र महिनौँअघिदेखि दर खाने प्रवृत्तिले पर्वको मौलिकता कमजोर बनाउँदै लगेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ।
धर्मशास्त्रविद्हरूका अनुसार भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बस्नुपर्ने भएकाले त्यसको अघिल्लो साँझ दर खाने शास्त्रीय परम्परा बसेको हो।
दर खाएपछि सुरु हुने तीज ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा तथा पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व सम्पन्न हुन्छ।
पौराणिक मान्यताअनुसार हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति पाउन गौरीघाटमा कठोर तपस्या गरेकी थिइन्। पिता हिमालयले उनको इच्छाविपरीत विष्णुसँग विवाह गराउन खोजेपछि साथीहरूले पार्वतीलाई लुकाएर राखेको र त्यही अवस्थामा उनले निराहार व्रत बसेर महादेवलाई पति रूपमा प्राप्त गरेको कथा पुराणमा उल्लेख छ।
पार्वतीलाई साथीहरूले हरण गरी लुकाएको दिन भाद्र शुक्ल तृतीया परेकाले यस पर्वलाई ‘हरितालिका’ भनिएको धार्मिक मान्यता छ।
तपाईको प्रतिक्रिया