भोटेकोशी बाढीमा मृतकको संख्या बढ्दै, १ हजार ३९२ शव फेला; ४ हजारभन्दा बढी अझै बेपत्ता
काठमाडौं । भोटेकोशी बाढीपछि बेपत्ता भएका व्यक्तिको खोजी तथा फेला परेका शवको पहिचान गर्ने क्रम जारी छ। पछिल्लो विवरणअनुसार बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३९२ जनाको शव फेला परेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार फेला परेका शवमध्ये ५४२ जना पुरुष, ३३६ जना महिला रहेका छन्। यस्तै ५१४ वटा शव आंशिक अंगसहित फेला परेका छन्।
फेला परेका शवमध्ये हालसम्म १०३ वटा शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ। बाँकी शवको पहिचान तथा सनाखत प्रक्रिया अघि बढाइएको छ।
प्रहरीका अनुसार बाढीपछि अझै ४ हजार ८९ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये स्वदेशीतर्फ २ हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन्। यस्तै विदेशी नागरिकतर्फ २७२ पुरुष र ३२८ महिला सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
बाढीपछि प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार २८७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ६ हजार ४०७ पुरुष, २ हजार ८३० महिला र पहिचान नखुलेका ५० जना रहेका छन्।
उद्धार गरिएकामध्ये २ हजार ७८१ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभएको छ।
बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखतमा कठिनाइ भएपछि प्रहरीले डिएनए परीक्षणलाई प्राथमिकता दिएको छ। आफन्तबाट संकलन गरिएको नमुना र फेला परेका शवबाट संकलित नमुनाको परीक्षणमार्फत पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ।
भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार, शव संकलन तथा व्यवस्थापनको काम अझै जारी छ।
तपाईको प्रतिक्रिया