बाढीको जोखिम घटाउन काठमाडौं महानगरले चलाउने भयो ‘रिचार्ज काठमाडौं’ अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दो बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ।
महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले वर्षाको पानी संकलन गरी जमिनमा पुनर्भरण गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको जानकारी दिइन्।
उनले काठमाडौंमा सामान्य वर्षा हुँदा पनि बाढी आउने अवस्था देखिन थालेकाले यसको दीर्घकालीन समाधान आवश्यक रहेको बताइन्। सहरी बाढीको समस्या समाधानका लागि महानगरले अध्ययनसमेत गरिरहेको उनको भनाइ छ।
डंगोलका अनुसार विगतमा सहरी क्षेत्रमा निर्माण गरिएका संरचना तथा विकासका कारण सिर्जित समस्यालाई क्रमशः सुधार गर्दै लैजानुपर्ने आवश्यकता छ। वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने गरी वर्षाको पानी संकलन तथा पुनर्भरणका कार्यक्रम सञ्चालन गरिनेछ।
उनले बाढीको समस्या तत्कालै पूर्ण रूपमा समाधान गर्न नसकिए पनि सम्भव हुने कामबाटै सुरुवात गर्नुपर्ने भन्दै ‘रिचार्ज काठमाडौं’ अभियान अघि बढाउन लागिएको बताइन्।
तपाईको प्रतिक्रिया