सोमबार २९ भदौ २०८३
राजनीति

प्रतिनिधिसभाको यस्तो छ १५ दिनको क्यालेन्डर

आइतबार भदौ २८, २०८३/ Sunday 09-13-26

काठमाडौं । प्रतिनिधिसभाको आगामी बैठकका लागि सम्भावित कार्यतालिका तय गरिएको छ। शुक्रबार (भदौ २६) बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले असोज १ देखि १५ गतेसम्मका लागि बैठक सञ्चालनको प्रस्तावित तालिका निर्धारण गरेको हो।

प्रस्तावित कार्यतालिकाअनुसार असोजको पहिलो सातामा प्रतिनिधिसभाका चारवटा बैठक बस्नेछन्। असोज १, ५, ६ र ७ गते बैठक सञ्चालन गर्ने तयारी छ। त्यसपछि असोज १३, १४ र १५ गते पनि बैठक बस्नेछ।

असोज १६ गतेपछि भने संसद्को चालु अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको जनाइएको छ। त्यसअघि भदौ ३० र ३१ गते पनि प्रतिनिधिसभाको बैठक बस्नेछ।

असोज १ गतेको बैठकमा संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रमा जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गर्ने सम्भावित कार्यसूची राखिएको छ।

त्यस्तै, असोज ५ गते बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयकलाई सम्बन्धित समितिमा पठाउने तयारी छ।

असोज ६ गते मन्त्रालयगत प्रश्नोत्तर सञ्चालन गर्ने कार्यसूची छ। सोही बैठकमा नागरिक लगानी कोष विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया