रसुवा बाढी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले सरकारले आफ्नो स्रोतसाधनसँगै दातृ निकायबाट प्राप्त हुने सहयोगसमेत पुनःस्थापनामा परिचालन गर्ने तयारी गरिरहेको बताए।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शाहले विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त गर्दै यसले प्रभावित क्षेत्रका नागरिकको मनोबल उच्च राख्न सहयोग पुग्ने बताए।
“यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौँ, मिलेर काम गर्यौँ,” प्रधानमन्त्री शाहले भने।
उनले प्रभावित क्षेत्रको सडक सञ्जाल यथाशीघ्र पुनःस्थापना गर्न सरकारले निरन्तर काम गरिरहेको जानकारी दिँदै सडक सञ्चालनमा आएपछि प्रभावित क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सहज हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री शाहले भोटेकोशी नदी तटीय क्षेत्रमा रहेका बस्ती सुरुदेखि नै जोखिममा रहेको विषय सरकारले उठाउँदै आएको उल्लेख गरे। अब बाढी प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नरहेको भन्दै उनले सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी अघि बढाइएको जानकारी दिए।
तपाईको प्रतिक्रिया