सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले सिंहदरबार परिसरबाटै पक्राउ गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग सोमबार सिंहदरबारमा आयोजना गरेको छलफलमा सहभागी भएर बाहिरिने क्रममा तामाङ पक्राउ परेका हुन्।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले तामाङलाई सिंहदरबारभित्रबाटै पक्राउ गरिएको पुष्टि गरेका छन्।
तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो। दरबारमार्ग प्रहरी वृत्तले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अदालतसँग अनुमति मागेको थियो।
अरुण अर्यालको जाहेरीका आधारमा अघि बढेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया