ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चको आदेश, १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन
काठमाडौं । सैन्य शैलीको पोशाक लगाएर सार्वजनिक गतिविधिमा देखिएपछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध दायर रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा लिखित जवाफ माग गरेको छ।
‘ग्रिन आर्मी’को संगठनात्मक संरचना, पोशाक, दर्जा तथा चिह्न प्रयोगसम्बन्धी विषयमा अधिवक्ता साम्ब राज अर्यालसमेतले दायर गरेको उत्प्रेषणयुक्त परमादेशको रिटमाथि सोमबार सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।
अदालतले विपक्षी नं. १ देखि ७, ९ र १० का हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत तथा विपक्षी नं. ८ र ११ का हकमा आफैं वा कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनेको छ।
रिट निवेदकले अन्तरिम आदेशसमेत माग गरेका थिए। तर सर्वोच्चले निवेदनमा उठाइएको विषयको प्रकृति र गम्भीरतालाई ध्यानमा राख्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षसँग छलफल गरेपछि निष्कर्षमा पुग्नु उचित हुने जनाएको छ।
अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न सर्वोच्चले आगामी असोज ५ गतेका लागि पेसी तोकेको छ। सो पेसीको जानकारी विपक्षीहरूलाई समेत गराउन आदेशमा भनिएको छ।
तपाईको प्रतिक्रिया