काठमाडौं । नेपाली हिन्दू महिलाले आज अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्दै ऋषिपञ्चमी पर्व मनाउँदै छन्। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा बिहानै स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ। तीजको व्रतसँग जोडिएको यस पर्वमा महिलाहरूले नदी, खोला, पोखरी तथा अन्य जलाशयमा स्नान गरी धार्मिक विधि पूरा गर्ने गर्छन्। त्यसपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र गरी सप्तऋषिको पूजा गरिन्छ।
धार्मिक मान्यताअनुसार रजस्वलाका क्रममा भएका त्रुटि तथा अशुद्धिबाट मुक्ति प्राप्त हुने विश्वासका साथ महिलाले ऋषिपञ्चमीमा सप्तऋषिको पूजा गर्ने चलन रहेको छ। पूजा विधिमा दत्तिवन, माटो, गोबर तथा खरानी प्रयोग गर्ने परम्परा पनि छ। पूजा तथा स्नानपछि नरोपी उम्रेका अन्न, कन्दमूललगायतका परिकार सेवन गरी एक छाक हविष्य बस्ने चलन रहेको छ।
ऋषिपञ्चमीसँग जोडिएको धार्मिक किंवदन्तीमा इन्द्रले विश्वरूपको हत्या गरेपछि लागेको ब्रह्महत्याको दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा बाँडिएको उल्लेख पाइन्छ। यही धार्मिक विश्वाससँग जोडिएर महिलाको रजस्वलासम्बन्धी विभिन्न परम्परा विकास भएको बताइन्छ। ऋषिपञ्चमीका अवसरमा काठमाडौंको टेकु, मूलपानीलगायत विभिन्न स्थानमा रहेका ऋषेश्वर मन्दिरमा श्रद्धालु महिलाको भीड लाग्ने गर्छ। मन्दिर पुग्न नसक्नेहरूले घरमै वा नदी किनारमा सप्तऋषिको पूजा आराधना गर्ने गरेका छन्।
तपाईको प्रतिक्रिया