भोटेकोशी बाढी अपडेट : ४ हजारभन्दा बढी बेपत्ता, १३ सय ९९ शव फेला
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ। नेपाल प्रहरीले भदौ ३० गते बिहान ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीपछि ४ हजार ८९ जना अझै बेपत्ता रहेको जनाएको छ।
प्रहरीका अनुसार बेपत्ता हुनेमध्ये ३ हजार ४७९ जना नेपाली नागरिक छन्, जसमा २ हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन्। त्यस्तै ६१० जना विदेशी नागरिक बेपत्ता छन्। उनीहरूमध्ये २७२ पुरुष, ३८ महिला र १० जनाको विवरण अन्य समूहमा राखिएको छ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार २८७ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये ६ हजार ४०७ पुरुष, २ हजार ८३० महिला र ५० जना पहिचान नखुलेका व्यक्ति रहेका छन्।
खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा ७ हजार ९७५ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। बाढीका कारण ६५ जना प्रहरीसमेत प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेको जनाइएको छ।
प्रहरीका अनुसार हालसम्म १ हजार ३९९ वटा शव तथा मानव शरीरका आंशिक अंग फेला परेका छन्। फेला परेकामध्ये ५४४ पुरुष र ३३६ महिला रहेका छन् भने ५१९ वटा मानव शरीरका आंशिक अंग रहेका छन्। अहिलेसम्म १०३ वटा शव आफन्तलाई बुझाइएको छ भने १ हजार २३० वटा शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
पहिचान हुन नसकेका १ हजार ३५५ वटा शवको विवरण प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। शव तथा मानव अंगको पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया पनि अघि बढाइएको छ। हालसम्म शवबाट १ हजार २८६ र बेपत्ता व्यक्तिका आफन्तबाट १ हजार ८८९ गरी कुल ३ हजार १७५ वटा डीएनए नमुना संकलन गरिएको छ।
उद्धार गरिएका व्यक्तिमध्ये ३ हजार ८८० जनालाई हाल होल्डिङ सेन्टरमा राखिएको छ। प्रभावित क्षेत्रमा प्रहरीले जनचेतना अभिवृद्धिका लागि २०१ वटा कार्यक्रम सञ्चालन गरेको छ, जसमा ४७ हजार ९२६ जना सहभागी भएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया