उच्च अदालतमा तीन न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को सिफारिस
काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा तीन जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा तीन तथा जिल्ला अदालतमा एक जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुका साथै विभिन्न अदालतका न्यायाधीशहरूको सरुवा र काजसमेत गरेको हो।
परिषद्ले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल, फैसला कार्यान्वयन महाशाखाका महानिर्देशक गजेन्द्रबहादुर सिंह र जिल्ला न्यायाधीश हिमाल बेलवासेलाई उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ।
सिफारिसअनुसार पोखरेललाई उच्च अदालत सुर्खेत, सिंहलाई उच्च अदालत विराटनगर र बेलवासेलाई उच्च अदालत जनकपुरमा पदस्थापन गर्ने निर्णय भएको छ।
त्यस्तै, सर्वोच्च अदालतका इजलास अधिकृत भरतकुमार दाहाललाई जिल्ला अदालतको न्यायाधीशमा नियुक्त गरी कैलाली जिल्ला अदालतमा पदस्थापन गर्न सिफारिस गरिएको छ।
बैठकले उच्च अदालतका तीन जना न्यायाधीशको सरुवा तथा चार जनालाई काजमा खटाउनसमेत सिफारिस गरेको छ। परिषद्का अनुसार १५ जना जिल्ला न्यायाधीशको समेत सरुवा गरिएको छ।
तपाईको प्रतिक्रिया