मंगलबार ३० भदौ २०८३
समाज

आईसीयूमा अन्तर्वार्ता लिएको विषयमा सांसद बास्कोटाको आपत्ति

मंगलबार भदौ ३०, २०८३/ Tuesday 09-15-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिइएको विषयमा प्रतिनिधिसभामा प्रश्न उठाएकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै बास्कोटाले आईसीयू गम्भीर अवस्थाका बिरामीको उपचारका लागि छुट्याइएको अत्यन्त संवेदनशील क्षेत्र भएकाले त्यहाँ क्यामेरा, क्यामेराम्यान र अन्तर्वार्ताकार पुग्नु गम्भीर विषय भएको बताइन्।

भोटेकोशी बाढीपछि नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म थुनिएका फोरम्यान सन्तोष साह र सुपरभाइजर कवीर महर्जनलाई भदौ १९ गते उद्धार गरिएको थियो। उद्धारपछि उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याएर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको थियो।

उनीहरू आईसीयूमा उपचाररत रहेकै अवस्थामा युट्युबर सुरजसिंह ठकुरीले लिएको अन्तर्वार्ता दुई दिनअघि सार्वजनिक भएको थियो। उक्त अन्तर्वार्ता जंगी अड्डा भद्रकालीको अनुमतिमा लिइएको बताइएको छ।

यही विषयलाई लिएर सांसद बास्कोटाले आईसीयूभित्र अन्तर्वार्ता लिनु उचित हो कि होइन भन्ने प्रश्न उठाइन्। उनले अस्पतालको आईसीयूमा बिरामीका आफन्तलाई समेत चिकित्सकको अनुमति र निश्चित प्रोटोकलअनुसार मात्रै प्रवेश दिइने अवस्थामा अन्तर्वार्ताका लागि क्यामेरा, क्यामेराम्यान र अन्तर्वार्ताकार पुग्नु गम्भीर विषय भएको बताइन्।

बास्कोटाले अन्तर्वार्ताका क्रममा आईसीयूमा रहेका अन्य बिरामीको स्वास्थ्यमा समेत असर पर्न सक्ने भन्दै त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताइन्। उनका अनुसार कुनै पनि सामग्री, अन्तर्वार्ता वा भ्युजभन्दा बिरामीको स्वास्थ्य र मानव जीवन महत्वपूर्ण हुनुपर्छ।

‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट, अन्तर्वार्ता र भ्युज हुँदैन,’ उनले भनिन्।

 

तपाईको प्रतिक्रिया