बुधबार ३१ भदौ २०८३
राजनीति

प्रधानमन्त्री बालेन र अमेरिकी कार्यबहाक राजदूत मेगनबीच भेटवार्ता

बुधबार भदौ ३१, २०८३/ Wednesday 09-16-26

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालमा पछिल्लो समय देखिएको विपद्, जलवायु परिवर्तन तथा राहत र पुनर्निर्माणका विषयमा छलफल भएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद व्यक्त गरे।

प्रधानमन्त्री शाहले पछिल्लो विपद्बाट नेपाली नागरिकसँगै विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण यस्ता घटनाको जोखिम बढिरहेको बताए। जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा त्यसबाट हुने प्रभाव सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य र सामूहिक प्रयासलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

वार्ताका क्रममा नेपालको पर्यटन क्षेत्रका सम्भावनाबारे पनि चर्चा भएको थियो। प्रधानमन्त्री शाहले नेपालको विशिष्ट पर्यटन सम्भावनालाई उपयोग गर्दै पर्यटन क्षेत्रको विकासमार्फत दुवै पक्षले पारस्परिक लाभ लिन सक्ने बताए। उनले नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्ने धारणा पनि राखे।

भेटमा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गरिन्।

बोल्डिनले विपद्को समयमा अमेरिकी सरकार नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताइन्। उनले राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि नेपालले अघि बढाउने प्रयासमा आवश्यक सहयोग तथा सहकार्य गर्न अमेरिकी सरकार तयार रहेको जानकारी दिइन्।

तपाईको प्रतिक्रिया