चेतन अयडी हत्या मुद्दा : चार वर्षपछि जिल्लाको अदालतको फैसला, के हो घटनाको वास्तविक पृष्ठभूमि?
बाजुरा । २०७९ मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा बाजुराको त्रिवेणी नगरपालिका–७ मा भएको घटनामा अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या भएको थियो। उक्त घटनाको करिब चार वर्षपछि हत्या मुद्दा जिल्ला अदालत बाजुरामा फैसला हुने चरणमा पुगेको छ।
जिल्ला अदालत बाजुराका न्यायाधीश ताराप्रसाद डाँगीको इजलासमा बुधबार र बिहीबार लगातार मुद्दामाथि बहस भएको हो। चेतनका बुवा गगन अयडीका तर्फबाट सरकारी वकिलसहित वरिष्ठ अधिवक्ताले बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट पनि कानुन व्यवसायीले बहस गरेका थिए।
के भएको थियो ?
निर्वाचनका क्रममा त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा विवाद भएको थियो। विवादपछि चेतन अयडीमाथि कुटपिट भएको र त्यसपछि उनको घरमै पुगेर पुनः आक्रमण गरिएको अभियोग छ।
गम्भीर घाइते भएका अयडीलाई उपचारका लागि अछामस्थित बयलपाटा अस्पताल लगिएको थियो। उपचारकै क्रममा मंसिर ५ गते उनको मृत्यु भएको थियो।
सोही घटनाक्रममा प्रहरीको गोली लागेर स्थानिय सञ्जीव अयडीको समेत मृत्यु भएको थियो। निर्वाचनका क्रममा भएको विवाद दुई जनाको मृत्युमा परिणत भएपछि घटनाले राष्ट्रिय राजनीतिक तथा कानुनी बहससमेत निम्त्याएको थियो।
२४ जनाविरुद्ध मुद्दा
चेतन अयडी हत्या प्रकरणमा जिल्ला अदालत बाजुरामा २४ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर भएको थियो।
पछिल्लो अदालती अवस्थाअनुसार ७ जना पुर्पक्षका लागि थुनामा छन्। उनीहरूमा धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी, लोकेश अयडी, जीवन अयडी र पदम अयडी रहेका छन्। ११ जना धरौटीमा तथा ६ जना साधारण तारिखमा रहेका छन्।
अभियोगपत्रमा ६ जना प्रतिवादीलाई मुलुकी अपराध संहिताको दफा ४१ बमोजिम जीवनभर आजीवन कैद तथा अन्य प्रतिवादीलाई दफा १७७ अन्तर्गत जन्मकैदको सजाय माग गरिएको छ। तर अभियोगपत्रमा गरिएको मागदाबी र अदालतले गर्ने अन्तिम फैसला फरक विषय हुन्।
सर्वोच्चबाट केही प्रतिवादीलाई राहत
मुद्दा विचाराधीन रहेकै अवस्थामा प्रतिवादीहरूको कानुनी अवस्था फरक–फरक बनेको थियो। २०८० पुसमा सर्वोच्च अदालतले जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंहबहादुर अयडीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो।
सर्वोच्चले तत्काल प्राप्त प्रमाणका आधारमा उनीहरूलाई थुनामै राख्नुपर्ने अवस्था नदेखिएको उल्लेख गरेको थियो। धनराज थापा, शेरबहादुर अयडी, खेमराज अयडी र सागर अयडीलाई भने पुर्पक्षका लागि थुनामा राख्ने आदेश कायम रहेको थियो।
जिल्ला अदालत बाजुराले ६ जनालाई गर्यो जन्मकैदको फैसला
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनका क्रममा हत्या गरिएका बाजुराका चेतन अयडीको हत्या मुद्दामा जिल्ला अदालत बाजुराले ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ।
अदालतले शेरबहादुर अयडी, सागर अयडी, लोकेश अयडी, खेमराज अयडी, जीवन अयडी र धनराज थापालाई जनही २५ वर्ष कैद सजाय सुनाएको हो।
मुद्दामा प्रतिवादी बनाइएका २४ जनामध्ये बाँकी १८ जनालाई भने अदालतले सफाइ दिएको छ। दोषी ठहर भएकालाई जनही १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला समेत भएको छ।
तपाईको प्रतिक्रिया