शनिबार ३ असोज २०८३
राजनीति

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा श्रमिकले गरे दीप प्रज्वलन

शुक्रबार असोज २, २०८३/ Friday 09-18-26

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले भोटेकोशी बाढी तथा अन्य विपत्तिमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा काठमाडौंको वसन्तपुरमा दीप प्रज्वलन गरेको छ।

गत भदौ १० गते रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। उक्त विपत्तिमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा जिफन्टले शुक्रबार साँझ कार्यक्रम आयोजना गरेको हो।

दीप प्रज्वलन कार्यक्रममा जिफन्टका पदाधिकारी, श्रमिक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए। उनीहरूले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए।

जिफन्टका महासचिव लक्ष्मण शर्माले विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता श्रमिकहरूको खोजी कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग आग्रह गरे।

उनले बाढी प्रभावित परिवारको उचित व्यवस्थापनसँगै राहत, पुनःस्थापना तथा आवश्यक सहयोग प्रभावकारी रूपमा उपलब्ध गराउन राज्यका सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

 

तपाईको प्रतिक्रिया