शनिबार ३ असोज २०८३
बिजनेस

नेपाल प्रहरीमा ३३५ जनाका लागि भर्ना खुल्यो

शुक्रबार असोज २, २०८३/ Friday 09-18-26

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ विभिन्न पदमा ३३५ जनाका लागि नयाँ भर्ना आह्वान गरेको छ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो।

सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (असई) जनपदतर्फ २११ जनाको माग गरिएको छ। त्यस्तै प्रहरी कार्यालय सहयोगीतर्फ भान्छे ८३, हजाम १६ र कुचिकार २५ गरी १२४ पदमा दरखास्त आह्वान गरिएको छ।

भर्नामा खुला तथा समावेशी समूहअन्तर्गत महिला, आदिवासी/जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्र तथा अमर/अशक्त प्रहरी परिवारका लागि समेत निर्धारित कोटा छुट्याइएको छ।

प्रहरी सहायक निरीक्षक पदका लागि इच्छुक उम्मेदवारले नेपाल प्रहरीको अनलाइन रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम (ओआरएमएस) मार्फत आवेदन दिनुपर्नेछ। आवेदन असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म दिन सकिनेछ।

प्रहरी कार्यालय सहयोगी पदका लागि भने तोकिएका आवेदन केन्द्रमा स्वयं उपस्थित भई कार्यालय समयभित्र दरखास्त बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

भर्नासम्बन्धी योग्यता, उमेरहद, परीक्षा प्रक्रिया, आवश्यक कागजात तथा अन्य विस्तृत विवरण नेपाल प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरेको छ। 

 

तपाईको प्रतिक्रिया