माधव नेपाल र मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मोरङस्थित रिजाल एन्ड कम्पनीको नाममा रहेको ६० रोपनी जग्गा छुट दिने क्रममा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले प्रतिवादीहरूबाट ७३ करोड ४९ लाख रुपैयाँ बिगो असुल गर्न माग गरेको छ ।
मुद्दामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, संसदीय व्यवस्था मन्त्री डा. मीनेन्द्र रिजाल, भूमिसुधार मन्त्री डम्मर श्रेष्ठ र मुख्यसचिव स्वर्गीय माधव घिमिरेलाई प्रतिवादी बनाइएको छ । त्यस्तै, माधव घिमिरेकी छोरी कमला घिमिरेलाई पनि प्रतिवादी कायम गरिएको छ ।
यसैगरी तत्कालीन सचिव छविराज पन्त, सहसचिव रमेशचन्द्र अधिकारी तथा उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा र ध्रुव सापकोटाविरुद्ध पनि मुद्दा दायर गरिएको छ । तत्कालीन शाखा अधिकृत बलराम निरौला पनि प्रतिवादीको सूचीमा छन् ।
त्यस्तै, भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सीताराम पोखरेल र नायब सुब्बा बुद्धिबहादुर कार्कीसहित मालपोत कार्यालयका विभिन्न कर्मचारीलाई समेत प्रतिवादी बनाइएको छ ।
जग्गा छुट दिने प्रक्रियामा संलग्न रहेको आरोपमा तत्कालीन सरकारी अधिकारी, कर्मचारी तथा अन्य व्यक्तिहरू गरी कुल ९७ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा अघि बढाएको हो ।
तपाईको प्रतिक्रिया