मंगलबार १७ कार्तिक २०८३
राजनीति

१० बुँदे सहमतिसहित नेकपा र उमा भुजेलको पार्टीबिच एकता

मंगलबार कार्तिक १७, २०८३/ Tuesday 11-03-26

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकता हुने भएको छ । दुवै पार्टीले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकीकरण प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन् ।

मंगलबार भएको सहमतिअनुसार एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहनेछ भने चुनाव चिह्न पाँच कुने तारा हुनेछ । पार्टीले मार्क्सवाद–लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त र नेपाली विशेषताको वैज्ञानिक समाजवादलाई क्रान्तिको कार्यक्रमका रूपमा अंगीकार गर्नेछ ।

पार्टीको तत्कालीन कार्यनीतिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरणमार्फत समाजवादको आधार तयार गर्ने विषय समेटिएका छन् ।

सहमति पत्रमा पार्टीको आन्दोलन मूलतः शान्तिपूर्ण हुने उल्लेख छ । तर, परिस्थितिअनुसार आन्दोलनका विभिन्न स्वरूप अपनाउन सकिने र सडक, संसद् तथा सरकारलाई समेत आन्दोलनका मोर्चाका रूपमा प्रयोग गरिने जनाइएको छ ।

एकीकृत पार्टीको राष्ट्रिय महाधिवेशन आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आयोजना गरिनेछ । त्यसअघि केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समितिलगायतका संरचनामा सहमतिका आधारमा सांगठनिक समायोजन गरिने सहमतिमा उल्लेख छ ।

त्यस्तै, पार्टीका सबै तहका समिति तथा जनसङ्गठनको समायोजन मंसिर मसान्तभित्र सम्पन्न गर्ने निर्णय भएको छ । पार्टीका संरचना जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार सञ्चालन गरिनेछन् ।

दुवै पार्टीबीच रहेका सैद्धान्तिक तथा वैचारिक मतभेद र विगतका गतिविधिको समीक्षाबारे निरन्तर छलफल गरिने र त्यसलाई राष्ट्रिय महाधिवेशनबाट टुङ्गो लगाइने सहमति पनि भएको छ ।

१० बुँदे सहमतिपत्रमा नेपाल कम्युनिस्ट पार्टीकी महासचिव उमा भुजेल तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया