मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूत सिफारिस गर्दै
काठमाडौं । सरकारले भारत, चीन, अमेरिका लगायत १३ देशका लागि नयाँ राजदूत सिफारिस गर्ने तयारी गरेको छ। यस विषयमा छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
सरकारले भारत, अमेरिका, अस्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, इजरायल र अस्ट्रियासहित १३ मुलुकका लागि राजदूत सिफारिस गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ। भारत, चीन र अमेरिकाका लागि क्रमशः सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डेय, चीन मामिला विज्ञ कल्याणराज शर्मा र सुरक्षा विज्ञ चिरनजंग थापाको नाम चर्चामा छ। यद्यपि कुन उम्मेदवारलाई कुन देशका लागि सिफारिस गर्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन।
परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्ने भएकाले राजदूत सिफारिसका लागि शुक्रबारको मन्त्रिपरिषद् बैठक महत्वपूर्ण मानिएको छ। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार प्रक्रिया ढिलो भइसकेकाले यसपटक २२ वटै रिक्त नियोगका लागि नभई १३ देशका लागि मात्रै सिफारिस गर्ने तयारी छ।
राजदूत नियुक्तिका लागि सरकारले गत जेठ १४ गते भारत, चीन, अमेरिका, बेलायत र अस्ट्रेलियालगायत १३ देशका लागि खुला आवेदन आह्वान गरेको थियो। जेठ २२ गतेसम्म आवेदन दिने समय तोकिएकोमा ४ हजार ४ सयभन्दा बढी आवेदन परेका थिए। दोहोरिएका तथा अपूर्ण आवेदन हटाएपछि करिब २ हजार ७ सय उम्मेदवार छनोट गरिएको थियो। त्यसपछि उनीहरूबाट थप नाम सर्टलिस्ट गरिएको थियो।
राजदूत पदका लागि परराष्ट्र मन्त्रालयमा कार्यरत केही करिअर कूटनीतिज्ञसमेत दाबेदार रहेको अधिकारीहरूको भनाइ छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीभित्र देखिएको असहमतिका कारण नियुक्ति प्रक्रिया प्रभावित हुँदै आएको बताइएको छ।
यसअघि सुशीला कार्की नेतृत्वको सरकारले गत असोज ३० गते चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरेबिया, स्पेन, अमेरिका, बेलायत र जापानका लागि कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाएको थियो। त्यसपछि वालेन्द्र शाह नेतृत्वको सरकारले गत चैत २४ गते भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका लागि कार्यरत थप ६ राजदूतलाई फिर्ता बोलाएको थियो।
नयाँ राजदूत सिफारिसमा भएको ढिलाइका कारण विभिन्न नेपाली नियोग लामो समयदेखि नेतृत्वविहीन छन्। हाल अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरेबिया, श्रीलंका, बेलायत, अमेरिका र स्पेनस्थित नेपाली नियोगमा राजदूत छैनन्।
त्यसैगरी, भियना, इजिप्ट, बहराइन, बंगलादेश र म्यान्मारका लागि नियुक्त राजदूतहरूको चारवर्षे कार्यकालसमेत पूरा भइसकेको छ। नयाँ नियुक्ति नहुँदासम्म उनीहरूलाई अर्को निर्णय नभएसम्म जिम्मेवारीमै रहन निर्देशन दिइएको छ।
सरकारले अब अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरेबिया, श्रीलंका, बेलायत, अमेरिका, स्पेन, ब्राजिल, इजिप्ट, बहराइन, बंगलादेश, म्यान्मार तथा संयुक्त राष्ट्रसंघको भियनास्थित नेपाली नियोगका लागि राजदूत सिफारिस गर्नुपर्ने अवस्था छ।
मन्त्रिपरिषद्बाट नाम सिफारिस भएपछि संसदीय सुनुवाइ समितिबाट उम्मेदवारहरूको नाम अनुमोदन हुनुपर्नेछ। त्यसपछि सम्बन्धित मुलुकबाट एग्रिमो अर्थात् सहमति प्राप्त भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया पूरा हुनेछ।
तपाईको प्रतिक्रिया