शनिबार ३ असोज २०८३
राजनीति

राष्ट्रियसभामा सांसदहरूद्वारा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

शुक्रबार असोज २, २०८३/ Friday 09-18-26

काठमाडौँ । राष्ट्रियसभाको शून्य समयमा सांसदहरूले मुलुकमा भइरहेका आपराधिक घटना, न्यायपालिकाको सुरक्षा तथा सडक पूर्वाधारको अवस्थालगायत विभिन्न जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद पूजा चौधरीले तीन वर्षीया बालिकामाथि भएको बलात्कारपछि हत्या घटनामा संलग्नलाई भएको कानुनी कारबाहीप्रति प्रश्न उठाइन्। उनले घटनामा संलग्न केहीलाई बाल सुधार गृह पठाइएको र अन्यलाई धरौटीमा रिहा गरिएको विषय न्यायोचित नभएको बताउँदै गम्भीर अपराधमा संलग्नलाई कडा सजाय हुनुपर्ने माग गरिन्।

त्यस्तै, सांसद रुक्मिणी कोइरालाले देशका विभिन्न क्षेत्रमा महिला हिंसा र बलात्कारका घटना निरन्तर दोहोरिइरहेको भन्दै त्यसतर्फ गृहमन्त्रीको ध्यानाकर्षण गराइन्। उनले यस्ता घटनाको नियन्त्रण तथा दोषीमाथि प्रभावकारी कारबाहीका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन्।

सांसद विष्णुबहादुर विश्वकर्माले भदौ २४ गते सर्वोच्च अदालतमा भएको तोडफोडको घटनालाई लिएर सरकारको आलोचना गरे। उनले सर्वोच्च अदालतजस्तो संवेदनशील र गरिमामय संस्थाको सुरक्षा व्यवस्था थप मजबुत बनाउन माग गर्दै घटनाको उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न आग्रह गरे।

यसैगरी, सांसद कृष्णप्रसाद अधिकारीले सडक, पुल तथा अन्य भौतिक पूर्वाधारको कमजोर अवस्थाका कारण नागरिकले समस्या भोग्नुपरेको विषय उठाए। उनले रसुवाका विभिन्न गाउँपालिकामा सडक तथा यातायातको पर्याप्त सुविधा नहुँदा स्थानीय बासिन्दा प्रभावित भएको बताए।

अधिकारीले प्रभावित क्षेत्रमा तत्काल सडक सञ्चालनमा ल्याउन तथा खाद्यान्न, औषधि लगायत अत्यावश्यक उपभोग्य सामग्रीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरे। साथै, स्थानीय तहसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल काम अघि बढाउन उनले सरकारको ध्यानाकर्षण गराए।

तपाईको प्रतिक्रिया