काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत वितरणको कामलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति गम्भीर चासो व्यक्त गर्दै प्रभावित नागरिकलाई तत्काल राहत र आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेको हो।
बैठकपछि निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता जगदीश खरेलले प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतको काम जारी रहेको तथा अब पुनर्स्थापना र पुनर्निर्माणका काम अघि बढाउने तयारीबारे सरकारमा रहेका मन्त्री तथा पार्टी पदाधिकारीबाट जानकारी प्राप्त भएको बताए।
रास्वपाले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका क्रममा कुनै प्रकारको कमजोरी हुन नदिन सरकारलाई आग्रह गरेको छ। बेपत्ता व्यक्तिहरूको शव फेला परेको तर पहिचान हुन नसकेको अवस्थामा डीएनए परीक्षणको प्रक्रिया छिटो अघि बढाउनुपर्ने पार्टीको माग छ।
पार्टीले अझै पाँच हजारभन्दा बढी व्यक्ति बेपत्ता रहेको र उनीहरूका परिवार लामो समयदेखि पीडामा रहेको उल्लेख गर्दै बेपत्ता व्यक्तिको अवस्था यथाशीघ्र टुंगो लगाउन सरकारसँग माग गरेको छ। कानुनी समस्या देखिए आवश्यक कानुन संशोधन गरेर भए पनि मृत्यु प्रमाणपत्र उपलब्ध गराउनुपर्ने र परिवारको सहमतिमा राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका काममा सरकारले सहजीकरण गर्नुपर्ने रास्वपाको धारणा छ।
बैठकमा मधेस प्रदेश अधिवेशनका क्रममा देखिएका आन्तरिक समस्याबारे पनि छलफल भएको थियो। सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा रहेको समितिले यस विषयमा अडिट रिपोर्ट पेस गरेको र विस्तृत प्रतिवेदन आगामी साता बुझाउने प्रवक्ता खरेलले जानकारी दिए।
यसैबीच, पार्टीले अनुशासन आयोगसहित केही विभागमा नयाँ सदस्य मनोनयन गरेको छ। उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणबाट प्राप्त उपलब्धिबारे पनि बैठकमा समीक्षा गरिएको थियो।
भोटेकोशी बाढीपछि स्थगित गरिएका पार्टीका औपचारिक तथा नियमित गतिविधि पुनः सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ। पार्टी सभापति रवि लामिछानेले सरकारमा रहेका मन्त्री, निर्वाचित सांसद तथा पार्टी नेताहरूको आचरणमा सुधार गर्दै पार्टी र सरकारबीचको सम्बन्धलाई थप सुदृढ बनाएर अघि बढ्न निर्देशन दिएका छन्।
तपाईको प्रतिक्रिया