वारेन बफेटले छाडे बर्कशायरको अध्यक्ष पद, छोरा हावर्डलाई जिम्मेवारी
काठमाडौं । विश्वप्रसिद्ध लगानीकर्ता वारेन बफेटले बर्कशायर ह्याथवेको अध्यक्ष पदबाट औपचारिक रूपमा अलग भएका छन्। उनको स्थानमा उनका जेठा छोरा हावर्ड जी बफेट कम्पनीको नयाँ अध्यक्ष बनेका छन्।
बर्कशायर ह्याथवेले गरेको घोषणाअनुसार ९६ वर्षीय वारेन अब ‘मानार्थ अध्यक्ष’का रूपमा रहनेछन्। उनी कम्पनीको सञ्चालक समितिमा भने कायम रहनेछन्। यससँगै कम्पनीको शीर्ष नेतृत्वमा वारेनको प्रत्यक्ष कार्यकारी भूमिका अन्त्य भएको छ।
यसअघि नै बर्कशायरको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी ग्रेग एबेलले सम्हालिसकेका छन्। गत जनवरीमा एबेलले वारेनबाट प्रमुख कार्यकारीको जिम्मेवारी लिएका थिए। अब कम्पनी सञ्चालनको मुख्य जिम्मेवारी एबेलले सम्हाल्नेछन् भने हावर्डले कम्पनीको स्थापित संस्कृति र मूल्य–मान्यताको संरक्षण गर्ने जिम्मेवारी पाएका छन्।
बर्कशायरका सेयरधनीलाई पठाएको पत्रमा वारेनले कम्पनी सञ्चालन गर्ने जिम्मेवारी एबेलको र संस्थाको संस्कृति तथा मूल्य–मान्यता जोगाउने जिम्मेवारी हावर्डको हुने उल्लेख गरेका छन्। उनले बर्कशायरको संस्कृति र मूल्य–मान्यता कम्पनीको वित्तीय सम्पत्तिभन्दा पनि महत्वपूर्ण रहेको बताएका छन्।
७१ वर्षीय हावर्ड बफेट वारेनका तीन सन्तानमध्ये दोस्रो हुन्। उनी सन् १९९३ देखि बर्कशायर ह्याथवेको सञ्चालक समितिमा छन्। कम्पनीको नेतृत्व हस्तान्तरणका लागि उनलाई लामो समयदेखि तयार पारिँदै आएको बताइन्छ।
हावर्डले यसअघि कोका–कोला र कोनएग्रा फुड्सलगायत कम्पनीको सञ्चालक समितिमा काम गरिसकेका छन्। उनी परोपकारी गतिविधिमा पनि संलग्न छन्। उनले नेब्रास्का र इलिनोइमा कृषि व्यवसाय सञ्चालन गर्नुका साथै केही पुस्तकसमेत लेखेका छन्। उनी इलिनोइमा काउन्टी शेरिफका रूपमा पनि काम गरिसकेका छन्।
वारेन बफेटले सन् १९६५ मा बर्कशायर ह्याथवेको नियन्त्रण लिएका थिए। त्यसबेला समस्याग्रस्त कपडा उद्योगका रूपमा रहेको कम्पनीलाई उनले आफ्नो दीर्घकालीन लगानी रणनीतिमार्फत रेलमार्ग, ऊर्जा, बिमा र अन्य विभिन्न क्षेत्रमा लगानी भएको विशाल व्यावसायिक समूहमा रूपान्तरण गरेका थिए।
हाल बर्कशायर ह्याथवेको बजार मूल्य करिब १.१ ट्रिलियन अमेरिकी डलर रहेको छ। अध्यक्ष पद छाडे पनि वारेनले सञ्चालक समितिमार्फत कम्पनीलाई आफ्नो अनुभव र सुझाव दिइरहनेछन्।
तपाईको प्रतिक्रिया