मंगलबार ६ असोज २०८३
राजनीति

केन्द्रीय कमिटी बैठकमा मोबाइल नल्याउन एमाले अध्यक्ष ओलीको निर्देशन

सोमबार असोज ५, २०८३/ Monday 09-21-26

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा भोलिदेखि मोबाइल फोन लैजान नपाइने व्यवस्था गरिने बताएका छन्।

रामबाग महलमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले बैठकको मर्यादा कायम राख्न मोबाइल प्रयोगमा रोक लगाउने जानकारी दिएका हुन्। उनले सोमबारको बैठकमा पनि मोबाइल स्विच अफ गरेर राख्न आग्रह गरे।

ओलीले बैठक कक्षभित्र मोबाइल हेर्न, चलाउन वा फोनमा कुराकानी गर्न अनुमति नहुने स्पष्ट पारे। त्यस्तै, बैठकका गतिविधिको भिडियो खिच्न, अडियो रेकर्ड गर्न तथा लाइभ गर्नसमेत उनले निर्देशन दिए।

बैठक सञ्चालनका क्रममा सदस्यहरूले आफ्नो आसन छाड्नुपरे अध्यक्षको अनुमति लिनुपर्ने र बोल्नका लागि पनि अध्यक्षको ध्यानाकर्षण गराई अनुमति लिनुपर्ने ओलीले बताए।

उनले आवश्यकताअनुसार बैठकको समयसमेत परिवर्तन हुन सक्ने जानकारी दिए। विशेष परिस्थिति उत्पन्न भएमा अध्यक्षले समय हेरफेर गर्न सक्ने उनको भनाइ थियो।

ओलीले बैठकमा आज राजनीतिक प्रतिवेदन प्रस्तुत हुने र त्यसलाई अध्ययन गर्न सदस्यहरूलाई समय दिइने बताए। छलफलका क्रममा संक्षिप्त रूपमा आफ्ना धारणा राख्नुपर्ने भन्दै उनले समय बाँडफाँट गर्दा तीन मिनेटभन्दा बढी समय उपलब्ध हुने अवस्था नदेखिएको बताए।

उनले सदस्यहरूलाई आफ्ना धारणा लिखित रूपमा व्यवस्थित र बुँदागत रूपमा प्रस्तुत गर्न आग्रह गरे। बैठकमा समय अभावका कारण राख्न नसकिएका विषयहरू भने नोट गरेर लिखित रूपमा बुझाउन ओलीले निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया